
दाङ । फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग भेटघाट गरेका छन । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
राउटे शाहीले सरकारसंग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गर्नुभयो । ‘अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो,’ उहाँले भन्नुभयो ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ । सबै मत्रीहरुले हामीलाई दशै खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।’
उहाँले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताउनुभयो । तिज खर्चकै लागि आएका हौं, उहाँले भन्नुभयो, तिज गइगो अब दशैं खर्च जुटाउनु परेको छ ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताउनुभयो ।
‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ,’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘२/३ दिनमा सरकारको केहि सहयोग हुन्छ ।’
भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।





