
नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन ।
सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष बनाइएको बताउनुभयो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख एवं प्रहरी निरीक्षक हरि बहादुर बुढाक्षेत्रीले अहिलेको अवस्था तथा आउँदै गरेको चाडपर्वमा बसपार्क क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम नियन्त्रणका लागि सहायता कक्ष प्रभावकारी हुने बताउनुभयो ।
यात्रुहरुलाई तानातान गर्ने, बसपार्कमा बसमा चडाउने र अगाडी लगेर लामो दुरीको सवारी भेटिएपछि छोटो दुरीका सवारीसंग नराम्रो व्यवहार गर्ने, बसपार्कभित्र अन्य अनैतिक गतिबिधि र यात्रुलाई सुरक्षा प्रदान गर्न हामी तत्पर रहने समेत वडा प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो ।
अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी नायब निरीक्षक भरत वलीका अनुसार अबदेखि सहायता कक्षमा दुई जना प्रहरीको नियमित उपस्थिति रहने छ । प्रहरीले यस क्षेत्रमा हुने गलत कार्य नियन्त्रणमा यात्रुलाई सहयोग पुर्याउने कार्य हुनेछ । उद्घाटनमा जनप्रतिनिधि, यातायात व्यवसायी र चालकहरुको उपस्थिति रहेको थियो ।





