कर्णाली प्रदेश ‘पूर्ण खोप प्रदेश’ घोषणा

सुर्खेत । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभयो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सङ्गीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।

यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताउनुभयो ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो ।

घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।

Previous articleमाओवादी केन्द्रका नेता-कार्यकर्ताको श्रमदान अभियान
Next articleविद्यार्थी टिकाई राख्न शक्ति समूहले गर्यो शैक्षिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here