नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

नेपालगञ्ज । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।

मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् । धर्मशास्त्रका जानकार डा.वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा.शास्त्री बताउनुहुन्छ ।

कात्यायनी स्वरूपको पूजा विधि
सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ । देवीको पूजापछि महादेव र परमपिताको पूजा गर्नुपर्दछ। श्री हरिको पूजा देवी लक्ष्मीको साथ गर्नुपर्दछ ।

कात्यायनीको ध्यान मन्त्र

वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम्।

सिंहरूढ़ा चतुर्भुजा कात्यायनी यशस्वनीम्॥

स्वर्णाआज्ञा चक्र स्थितां षष्टम दुर्गा त्रिनेत्राम्।

वराभीत करां षगपदधरां कात्यायनसुतां भजामि॥

पटाम्बर परिधानां स्मेरमुखी नानालंकार भूषिताम्।

मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम्॥

प्रसन्नवदना पञ्वाधरां कांतकपोला तुंग कुचाम्।

कमनीयां लावण्यां त्रिवलीविभूषित निम्न नाभिम॥

कात्यायनीको स्तोत्र पाठ

कंचनाभा वराभयं पद्मधरा मुकटोज्जवलां।

स्मेरमुखीं शिवपत्नी कात्यायनेसुते नमोअस्तुते॥

पटाम्बर परिधानां नानालंकार भूषितां।

सिंहस्थितां पदमहस्तां कात्यायनसुते नमोअस्तुते॥

परमांवदमयी देवि परब्रह्म परमात्मा।

परमशक्ति, परमभक्ति,कात्यायनसुते नमोअस्तुते॥

कात्यायनीको स्वरूप
कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ । यी देवीको पनि सवारी सिंह हो । यिनका चार हातहरूमध्ये एक हात अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ । अन्य हातहरुमा एउटामा तरबार र अर्कोमा कमलको फूल‍ रहेको हुन्छ ।

Previous articleरुढीवादी संस्कारलाई रोक्न अगुवाहरुको अहम् भुमिका
Next articleनेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here