
नेपालगञ्ज । द्वन्द्व पिडितहरुलाई न्याय दिनमा सरकार गम्भीर बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । द्वन्द्व पिडितहरुले न्याय नपाएको लामो समय भइसकेकोले उहाँहरुलाई सरकारले छिटो भन्दा छिटो न्यायको प्रत्याभूति गराउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको हो ।
द्वन्द्व पिडित महिला राष्ट्रिय संजालले नेपालगञ्जमा आयोजना गरेको संक्रमणकालिन न्याय सम्बन्धी द्वन्द्व पिडितहरुको हालको अवस्था तथा बिजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै नेपालगञ्जका मेयर प्रशान्त बिष्टले सरकारले न्यायको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो । ‘द्वन्द्व पिडितहरुले न्याय नपाएको लामो समय बितिसकेको छ,’ मेयर बिष्टले भन्नुभयो, ‘ढिलो न्याय दिनु न्याय नपाए सरह नै हुन्छ, त्यस कारण सरकारले उहाँहरुलाई छिटो न्याय दिनुपर्छ ।’
उहाँले स्थानीय सरकारको हैसियतले द्वन्द्व पिडित व्यक्तिहरुका लागि आफुले गर्न सक्ने कार्य गर्न सक्रिय रहने बताउनुभयो । साथै उहाँले एकदमै समस्यामा परेको कोही द्वन्द्व पिडित भएको भए तत्काल उपमहानगरपालिकाले गर्न सक्ने सहयोग उपलब्ध गराउनुे समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख एव जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवास चन्द्र बोहराले सामाजको हितमा आफु सदैव रहने बताउनुभएको थियो । उहाँले जिल्ला प्रहरी प्रमुखलाई भेट्न आवश्यक भएका बेला आउनुभन्दा अगाडी एक पटक फोन सम्पर्क गरेर आउन अनुरोध गर्दै यसो गर्दा व्यस्ततालाई व्यवस्थापन गरेर भेट सहज बनाउन सकिने बताउनुभयो ।
समाजमा सामाजिक सदभाव कायम गर्नका लागि हरेक व्यक्तिको सक्रियता आवश्यक रहेको कुरामा समेत जोड दिइएको थियो । साथै नेपालीहरुको चाडपर्वले सामाजिक सदभाव सदा कायम गर्न सहयोगी भूमिका निर्वाह गरोस भन्ने कामना समेत गरिएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य रेवती परियार, नेपालगञ्ज वडा नं-८ का वडा अध्यक्ष रजनीश बाजपेयी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, मानव अधिकार एलाईन्सका प्रभात सिंह ठकुरी, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्धिकी, जिल्ला बार बाँके उपाध्यक्ष पुनम श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
द्वन्द्व पिडित महिला राष्ट्रिय संजाल बाँकेकी अध्यक्ष उषा दहाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमलाई सल्लाहकार चन्द्रकला उप्रेतीले संचालन गर्नुभएको थियो ।





