कोभिड–१९ को नयाँ मापदण्ड : कस्ताले पाउँछन निःशुल्क परीक्षण र उपचार ?

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचार सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने बताएको थियो ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचार सम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको छ । मापदण्ड अनुसार निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचार सम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने हुन्छ । यस्तै अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ । यस्तै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारण कसैलाई पनि उपचारबाट बञ्चित गर्न नपाइने मन्त्रालयले अस्पतालहरुलाई पठाएको परिपत्रमा उल्लेख छ ।

Previous articleभेरी अस्पतालमा शुक्रबारदेखि रु २० मा पेटभरी खाना
Next articleशाहको संयोजकत्वमा कोभिड अनुगमन समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here