
बाँके । लक्ष्मी नारायण शाहको संयोजकत्वमा नेपाली कांग्रेस बाँकेको कोरोना भाइरस (कोभिड–१९) अनुगमन समिति गठन गरिएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएका शाहको नेतृत्वमा ५९ जना सदस्यीय समिति गठन गरिएको हो । समितिले बाँकेमा कोरोना भाइरसले पारेको प्रभाव, त्यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयास लगायतका विषयमा अनुगमन एंव अध्ययन गर्नेछ ।
महाधिवेशन प्रतिनिधि शाहले कोरोना भाइरसका कारण सृजना भएका समस्या र यसको रोकथामका निम्ति राज्यले खर्च गरेको रकमको सदुपयोग लगायतका विषयमा अनुगमन गरिने बताउनुभयो । ‘राज्यले कोरोनाको नाममा अर्बौ रकम खर्च गरेको छ,’ शाहले भन्नुभयो, ‘त्यसको सदुपयोग कसरी गरिएको छ । धेरै ठाउँमा कोरोनाका नाममा भएका खर्चको बारेमा जनताले प्रश्न उठाएका छन । त्यसका बारेमा पनि हामीले अध्ययन गरेर केन्द्रमा सुझाव पठाउने छौं ।’
नेपाली कांग्रेसले गत भदौ ८ गते देशका विभिन्न जिल्लामा कोरोना अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो । पार्टीका सह–महामन्त्री डा.प्रकाश शरण महतको संयोजकत्वमा समिति गठन गरिएको थियो । जस अन्तर्गत बाँकेमा शाहलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
बाँकेको समितिमा पत्रकार, सामाजिक क्षेत्रमा काम गरिरहेका युवाहरुलाई समेटिएको छ । समितिमा फिरोज खाँ, देबेन्द्र मान श्रेष्ठ, कोमल सिँह ठकुरी, बिनोद रिजाल, असलम भाट, सन्दिप जङ्ग शाह, उत्सव सिजाली मगर, राजु यादव, कमल खत्री, शिव कुमार बर्मा, तारामणि अधिकारी सहित ५९ जना रहेका छ्न ।





