
नेपालगञ्ज । यही मंसिर ९ गते आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसबर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने जनाइएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।
सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको छ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो ।
यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपालगन्ज म्याराथनको वेभसाइट (धधध।लभउबनिगलवmबचबतजयल।अयm) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।
नेपालगन्ज म्याराथनको स्टार्ट÷फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ ।
नेपालगन्ज म्याराथनमा बिभिन्न क्षेत्रका सफल दर्जन बढी व्यक्तिहरु पनि ऐक्यवद्धता जनाउन आउनुहुनेछ । यसैबीच म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिंदैछ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ ।
सहभागिताका लागि खुला आह्वान पनि गरिसकिएको छ । इच्छुकले समयमै नाम दर्ता गर्नुपर्नेछ । कनक्लेभ सकिएपछि बाहिरी जिल्लाबाट आएका पाहुनालाई बेलुकी स्ट्रिट फुडका लागि त्रिभुवन चोक एरिया भ्रमण गराइनेछ । जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ संस्थालाई साझेदारीका लागि आग्रह गरिएको छ ।
साथै, नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ ।
नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डटकम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बन्नुभएको थियो । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बन्नुभएको थियो भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बन्नुभएको थियो ।
त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बन्नुभएको थियो । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।
पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथनलाई प्रदेश खेलकुद परिषदले बिशेष सम्पत्तिका रुपमा लिएको बताउनुभयो । ‘लुम्बिनी प्रदेशमा नौ बर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन र गत बर्ष शुरु भएको लुम्बिनी म्याराथनलाई बिशेष सम्पत्तिका रुपमा अगाडि बढाउने गरी बार्षिक क्यालेन्डरमा समावेश गरेका छौं ।’ उहाँले भन्नुभयोे–‘हरेक हिसाबले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
त्यसैगरी टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर जोडिन पाउँदा गौरव लागेको बताउनुभयो । सिंगो नेपालगन्जवासी र बाँके जिल्लाबासीको सहयोगले यो क्रमिक सफलताको उचाइ चढ्दै गएको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथरा र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख गणेश पोखरेलको उपस्थिति थियो । संस्थपाक अध्यक्ष टीएस ठकुरीको सबैको सहयोगले नेपालगन्ज म्याराथन अगाडि बढेकोमा सबैप्रति आभार प्रकट गर्नुभयो ।





