
काठमाण्डौं । सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।
‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने, सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल देखिएन, बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएर मात्रै गर्नुपर्ने देखियो,’ न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै भन्नुभयो ।
यस्तै इजलासले सञ्चारमाध्यमहरूको पनि ध्यानाकर्षण गर्न भनेको छ । ‘अदालतमा विचाराधीन अवस्थामा रहेको यो मुद्दामा अपुष्ट र भ्रमपूर्ण समाचारहरू लेखेको हुँदा विचार पुर्याउन ध्यानाकर्षण गराउन भन्नू,’ न्यायाधीश खतिवडाले इजलासमा भन्नुभयो ।





