
नेपालगञ्ज । प्रदेशस्तरीय स्वास्थ्य मुल्याँकनमा स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा देखिएको छ । कार्यालयले प्रवाह गर्ने सेवा, यसको पारदर्शीता, सुशासन, रिपोर्टिङ लगायतका सूचकलाई आधार बनाएर भएको मुल्याँकनमा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा देखिएको हो ।
यो अवस्थाले स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वप्रति नै गम्भीर प्रश्न खडा गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सम्पादित प्रगति मूल्यांकनको आधारमा जिल्लाका जनस्वास्थ्य क्रियाकलापहरुको सूचकको मापनलाई आधार वनाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले १२ जिल्लाको स्वास्थ्य कार्यालयको कार्य सम्पादनबारे मूल्यांकन गरेको थियो ।
विभिन्न १० वटा सूचकलाई आधार बनाएर मूल्यांकन गरिएको थियो । बार्षिक समिक्षा गोष्ठीको आयोजना गरेर गरिएको मूल्यांकनमा स्वास्थ्य कार्यालय बाँकेको अवस्था खराब देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेमा सुनिता पोडेलको नेतृत्व छ ।
स्वास्थ्य कार्यालय बाँके लगातार दुई वर्षदेखि नै प्रदेशभरीमा ११ औं स्थानमा पर्दै आएको छ । कार्य प्रगति मूल्यांकनमा पाल्पा ७६.७६ प्रतिशत अंक ल्याएर पहिलो भएको छ । यस्तै रोल्पा ७६.०७ प्रतिशत अंक ल्याएर दोस्रो हुँदा ७३.४९ प्रतिशत अंक ल्याएर रुपन्देही तेस्रो हुन सफल भएको छ ।
गुल्मी ७३.०५ प्रतिशत अंक ल्याएर चौथो, प्यूठान ७२.५९ प्रतिशत अंक ल्याएर पाँचौ, नवलपरासी पश्चिम ७१.५९ प्रतिशत अंक ल्याएर छैठौं स्थान हासिल गरेको छ ।
यसैगरी ७०.५६ प्रतिशत अंक ल्याएर रुकुमपश्चिम सातौं, बर्दिया ६९.८४ प्रतिशत अंक ल्याएर आठौं, दाङ ६७.५५ प्रतिशत अंक ल्याएर नवौं, ६७.१० प्रतिशत अंक ल्याएर अर्घाखाँची १० औं, ६६.३३ प्रतिशत अंक ल्याएर बाँके ११ औं र ६०.६३ प्रतिशत अंक ल्याएर कपिलबस्तु सबैभन्दा पुछार १२ औं स्थानमा रहेको छ ।





