
नेपालगञ्ज । विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाउनुभएकी अभिनेत्री सुरक्षा पन्त नेपालगञ्ज आउने तय भएको छ । यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगञ्ज आउने निश्चित भएको आयोजकले जनाएको छ ।
यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगञ्ज कनक्लेभमा पनि उहाँले सक्रिय सहभागिता जनाउनु हुनेछ । उहाँ ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनु हुनेछ । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उहाँ सिभिल ईन्जिनियरको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गर्नुभएको छ ।
२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझैपनि’बाट डेब्यु गर्नुभएकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किनु भएको छ । इटालियन फिल्म आठ माउन्टेनबाट उहाँले अन्तर्राष्टिय फिल्ममा डेब्यु गर्नुभएको थियो । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो ।
उहाँले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उहाँ कविता लेखनमा रुची राख्नुहुन्छ । उहाँले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गर्नुभएको थियो ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको छ ।
नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपालगञ्ज म्याराथनको वेभसाइट www.nepalgunjmarathon.com मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।
नेपालगञ्ज म्याराथनको स्टार्ट÷फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ ।
नेपालगञ्ज म्याराथनमा बिभिन्न क्षेत्रका सफल दर्जन बढी व्यक्तिहरु पनि ऐक्यवद्धता जनाउन आउनुहुनेछ । यसैबीच म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिंदैछ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ ।
सहभागिताका लागि खुला आह्वान पनि गरिसकिएको छ । इच्छुकले समयमै नाम दर्ता गर्नुपर्नेछ । कनक्लेभ सकिएपछि बाहिरी जिल्लाबाट आएका पाहुनालाई बेलुकी स्ट्रिट फुडका लागि त्रिभुवन चोक एरिया भ्रमण गराइनेछ । जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थालाई साझेदारीका लागि आग्रह गरिएको छ ।
साथै, नेपालगञ्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ ।
नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायानेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगञ्ज, सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहने छन् ।





