आरोपित भाग्न खोजेपछि बाँकेमा प्रहरीले गोली चलायो, एक युवा पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ज्यान मार्ने कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न गोली चलाएको छ । प्रहरीले ज्यान मार्ने कसुरमा संलग्न बैजनाथ गाउँपालिका वडा नं-१ चिसापानीका ३० वर्षीय आकाश रानालाई पक्राउ गर्न गोली चलाएको हो । सो क्रममा प्रहरीले चलाएको तीन राउण्ड गोलीमध्ये एक राउण्ड लागेको छ ।

गत कार्तिक ३० गते बिहान कोहलपुर वडा नं-१२ स्थित चप्परगौडीका स्थानीय २९ वर्षीय मीन बहादुर बिक रानासहितका युवाहरूको धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट बिक गम्भीर घाइते हुनुभएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्ने क्रममा शुक्रवार बिहान करिब ११ बजेको समयमा जानकी गाउँपालिका वडा नं-४ को खजुराखुर्दमा पुगेको प्रहरीलाई देखेपछि अडहर खेतमा लुकेर बसेका राना भाग्न थालेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँके प्रवक्ता नाराण डाँगीले जानकारी दिनुभयो । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका वडा नं-११ मा रानाले १० वर्षीया बालिकालाई करणी प्रयास गरेको जाहेरी समेत दर्ता भएको प्रहरीले जनाएको छ । राना लागूऔषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखि ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

खुकुरी प्रहारबाट घाइते बिकलाई नेपालगञ्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउमा लगिएको छ । पक्राउ परेका रानाको भेरी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको पनि प्रहरीले बताएको छ ।

Previous articleप्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड बढी संकलन
Next articleकान्स रेडकार्पेटमा हिंड्ने पहिलो नेपाली कलाकार अभिनेत्री सुरक्षा पन्त आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here