
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका एक प्रहरी अधिकारीले पत्रकारहरुले तेल माग्छन यस्को ब्यबस्थापन कसरी गर्न सकिन्छ ? भन्ने भिडियो फुटेज समाचारका रुपमा सामाजिक सञ्जालमा फैलिएपछि त्यस्ता गलत पत्रकारहरुको नाम सार्वजनिक गरिनुपर्ने माग राख्दै कोहलपुरका पत्रकारहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रहरी अधिकारीहरुको आरोपमा असहमति जनाउदै आपत्ति प्रकट गरेका छन ।
मंसिर ३ गते नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले निम्तो दिई अस्टे«लिया र नेपालबिचको सुरक्षा चासोका बिषयमा प्रहरीका सबै युनिटको उपस्थितीमा आयोजित कार्यक्रममा केही प्रहरीहरुले अस्टे«लियाको बिषयलाई भन्दापनि बाँके जिल्लाका बिषयमा जिज्ञाशा राख्ने क्रममा उक्त अभिव्यक्ति आएको सहारा टिभिमा आएको फुटेजमा प्रष्ट रुपमा उल्लेख गरिएको श्रब्य दृश्य सार्वजनिक भएको थियो ।
महासंका अध्यक्षले कोहलपुरमा त यस्तो हुँदो रैछ नेपालगञ्जमा त यस्तो हुँदैन भन्दै गरेको भिडियो खिचेर सहारा टिभिले प्रशारण गरेको थियो । उक्त कार्यक्रममा आफुले अनुमतिमै सो भिडियो कैद गरेको सहारा टिभि संबद्ध पत्रकारको दावी रहेको छ ।
यस बिषयमा आफुहरु अपमानित भएको महशुस गर्दै पत्रकारहरुका साझा संगठन समाजवादी प्रेस संगठन जिल्ला अध्यक्ष लोकनाथ शर्मा, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल, प्रेस युनियनका बाँके जिल्ला सदस्य मार्सलराज संज्याल, प्रेस सेन्टरका कोहलपुर नगर अध्यक्ष पुष्पराज हमाल, नेपाल जनजाती आदिवासी पत्रकार महासंघ बाँके जिल्ला कोषाध्यक्ष दिपक राई र क्रियाशिल पत्रकार समुह कोहलपुरका महासचिव रवि रोकायले आफु र आफनो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गर्दै त्यस्ता ब्यक्तिहरुको २४ घण्टाभित्र नाम सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरुले प्रहरी अधिकारीहरुबाट पत्रकारहरुले तेल माग्छन भन्ने शब्दले क्रियाशिल पत्रकारहरुको आत्मसम्मानमा ठेस पुगेको समेत ठहर गरेका छन । यता ईलाका प्रहरी कार्यालयले भने सामान्य अनुभव आदान प्रदानमा भएका कुराहरु सामाचारका रुपमा सार्वजनिक भएपछि आश्चर्यमा परेको बताएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले पत्रकारहरुलाई लाञ्क्षणा लाउने उद्धेश्यले यस्तो अभिब्यक्ति नआएको भन्दै अनुभव आदान प्रदानका क्रममा भएका कुराहरु आधिकारीक नभएको जिकिर गर्नुभएको छ ।





