
नेपालगन्ज । नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी हुनुभयाे ।
कनक्लेभको पहिलो सत्र खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद्मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी हुनुभयाे । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गर्नुुभएकाे थियाे ।
नीतिगत रुपमा कहाँ चुक्यौँ ?
कनक्लेभको पहिलो सत्र खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद्मा बाल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन त भयो र परिणाममूखि बनाउन नसकिएको बताउनुभयाे ।
खेलकुदमा राजनीति हाबी भयो । ६६ सालमा खेलकुद नीति आएको तर समयसापेक्ष परिमार्जन नभएको उहाँको भनाइ छ । ऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिलेपनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ, उहाँले भन्नुभयाे ´स्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौँ ।`
उहाँले आफू खेलकुद क्षेत्रको जिम्मेवारीमा हुँदा पाँच प मा केन्द्रत होऔँ भनेर सुरु गरेको बताउनुभयाे । पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रतिभाको खोजी, प्रोत्सानका पक्षमा प्राथमिकता दिन सकेनौँ भने खेलकुदको विकास हुन सक्दैन । यी पाँच प लाई केन्द्रीत गरौँ भनेर सुरु गरेका थियौँ । तर स्रोत पाउन सकेनौँ । निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकेनौँ ।
खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उहाँको भनाई छ । सबभन्दा कमजोर पाटो कार्यान्वयनको भएको भन्दै उहाँले प्रष्ट मार्गदर्शन र कार्यान्वयन नहुँदा खेलकुदले फड्को मार्न नसकेकोमा जोड दिनुभयाे । खेलकुदलाई शारीरिक मात्रै होइन, मानसिक, सामाजिक र भावनात्मक विकास गराउँछ । तर, यसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ, उहाँले भन्नुभयाे ।
उहाँले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगञ्जमा धेरै पूर्वाधार बनेको तर ती पूर्वाधार खण्डहरमा परिणत भएका उल्लेख गर्दै उहाँले प्रतियोगिता र प्रशिक्षण निरन्तर भएमा मात्रै पूर्वाधारको संरक्षण हुने दाबी गर्नुभयाे ।
खेलकदको विकास गर्ने हो भने जरैबाट लाग्नु पर्छ । राष्ट्रपति रनिंग शिल्ड खेलाडी उत्पादनको थलो थियो । तर वर्षमा एउटा प्रतियोगिताले मात्रै पुग्दैन । प्रतियोगिताबाट आएका खेलाडीलाई पनि निरन्तर प्रशिक्षण हुनुपर्छ । ठोस कार्ययोजनासहित तिनै तहका सरकारले प्रतियोगिता गराउन सकेमा पूर्वाधारको संरक्षण हुन्छ, उहाँले भन्नुभयाे ।
खेलकुद र शिक्षालाई कसरी जोड्ने ?
विद्यालय सन्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै विसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताउनुभयाे । खेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरु पढाईमा असर पर्छ भन्छन् । अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । चार्म छैन भनेर हो कि ? एक दुईटा कारणमात्रै होइन धेरै कारणले खेलकुदलाई प्राथमिकता दिन सकेका छैनौँ, उहाँले भन्नुभयाे ।
अभिभावकले खेलेर के हुन्छ ? भन्ने प्रश्न गर्ने गरेको बताउँदै खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको बताउनुभयाे ।
खेलकुद र स्वास्थ्यको सम्बन्ध
मुटुरोड विशेषज्ञ डा.विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताउनुभयाे । अस्वस्थ व्यवहारले लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो, उहाँले भन्नुभयाे ।बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उहाँको भनाइ छ । स्कृन टाइम बढी हुँदा बालबालिका अल्छी भएका छन् । त्यसकारण घरैदेखिबाट शारीरिक कसरतलाई प्रथाथमिकता दिनुपर्छ । विद्यालयले नै यसखालको बानीको विकास गराउनुपर्छ, उहाँले उल्लेख गर्नुभयाे ।
कम्तिामा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उहाँको भनाइ छ । हिडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानु पर्छ । पानी धेरै खानु पर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्, उहाँले औँल्याउनुभयाे ।
विद्यालयमा खेलकुद कति जरुरी ?
म्याराथन धाविका सन्तोषी श्रेष्ठले आपजीवन जिउनलाई नै विद्यालय जीवनको खेलकुदले भूमिका खेलेको बताउनुभयाे । विद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ, उहाँले भन्नुुभयाे । खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उहाँको बुझाई छ ।
अभिभावकले सहयोग नगर्दा विद्यालयलाई पनि खेलकुदमा प्राथमिकता दिन नसकिरहेकामा उहाँले पनि सही थप्नुभयाे । उहाँले भन्नुभयाे, मलाई पनि अभिभावकले पढाईमा ट्यालेन्ट भएकोले पढ्दैन भन्नुहुन्थ्यो । मैले चाहीँ यसलाई गलत साबित गर्छुं भनेर लागें । तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौँ । खेलकुदलाई आर्थिक पाटोबाट मात्रै नहेरी बालबालिकाको भावनात्मक सबलता, समाज र देशका लागि हो भनेर बुझ्नुपर्ने उहाँले बताउनुभयाे । स्वास्थ्यका लागि र जीवन जिउने कलाका लागि पनि हो । संस्कारी छोराछोरी बनाउन, जीवन र जगत बुझेको मान्छे बनाउन खेलकुद जरुरी छ, उहाँले भन्नुुभयाे ।





