
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा सोमबारदेखि ऐतिहासिक मेला शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।
विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने मेलालाई सोमबार प्रदेशसभा सदस्य बादशाह कुर्मी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गर्नुभएको छ । उद्घाटनमा जानकी वडा नं २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं ३ का वडाअध्यक्ष रमेश कुमार बर्मा, नेकपा एमालेका युवा नेता भिम वली लगायतको उपस्थिति रहेको थियो ।
पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।
ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् । यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ ।
कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् ।गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।





