
नेपालगञ्ज । नेपालगञ्ज वडा नं ६ स्थित धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ । प्रत्येक वर्ष लाग्दै आएको धार्मिक मेला आज (बुधबार)बाट शुरु भएको हो ।
मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिद्वारा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले हडिया बाबाको महिमाले गर्दा देशभित्र रहेका साधु सन्तका साथै छिमेकी मित्र राष्ट्र भारतको विभिन्न शहरबाट साधु सन्तहरुको घुँईचो लाग्ने गरेको जानकारी दिनुभयो ।
आश्रममा प्रत्येक वर्ष ७ सयदेखि १ हजारसम्म साधु, सन्त, महत्माहरुको सहभागिता हुने गरेको छ । यस वर्ष पनि १ हजार बढी साधु, सन्तहरुको सहभागिता हुने आयोजकको अनुमान छ ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने मेलामा धार्मिक नाटक मञ्चन हुनुका साथै भक्तजनहरुलाई दैनिक भण्डारा, प्रसाद ग्रहण, कन्य पूजन, रुद्री पुजालगायतका कार्यहरु हुने र सहभागी साधुसन्तहरुलाई उपहार स्वरुप दक्षिणा, कम्बल आदि वितरण गरिने परम्परा रहि आएको आयोजकले जनाएको छ ।
मेलामा मंसिर १४ गते श्री रामलीला नाटक मञ्चनद्धारा राम जनम, मंसिर १५ गते मिरा लिला, मंसिर १६ गते हरिश चन्द्र नाटक, मंसिर १७ गते वर्षाने की लठ मार होली, मंसिर १८ गते धनुष यज्ञको आयोजना गरि मेलाको समापन गरिने अध्यक्ष वैश्यले बताउनुभयो ।





