
नेपालगञ्ज । नेपालगञ्जमा भएको सडक दुर्घटनामा परि ज्यान गुमाएकी सालिनी पाठकप्रति सहकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । मंगल प्रसाद माध्यमिक बिद्यालयमा अध्ययनरत पाठकका सहकर्मीहरुले नेपालगञ्जको बिरेन्द्र चोक (धम्बोझी) मा बुधबार श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
दुर्घटनास्थल नजिकै रहेको बिरेन्द्र चोक (धम्बोझी) मा पाठकका सहकर्मी, शिक्षक लगायत सर्वसाधारणले दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सो क्रममा बोल्दै सहकर्मी बिद्यार्थीहरुले पाठकको मृत्युले आफुहरु स्तब्ध भएको व्यक्त गरे ।
शिक्षक इन्द्रसिंह डाँगीको अग्रसरतामा भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने शिक्षक तथा बिद्यार्थीहरुले पाठकका लागि न्यायको माग समेत गरेका छन् । नेपालगञ्ज वडा नं-१७ निवासी पाठकको यही मंसिर १० गते साँझ भएको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।
तेल बोक्ने ट्याँकरले धम्बोझीमा रहेको सेतु बिक चोक जाने जेब्रा क्रासिंगमा मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर पाठकको मृत्यु भएको हो भने मोटरसाईकल चलाएका उनका बुबा घाइते भएका छन् । पाठक मंगल प्रसाद माबिमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो ।





