बाँकेमा घट्दै एचआइभी संक्रमित दर

नेपालगञ्ज । बाँकेमा एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा आर्थिक वर्ष २०७९/२०८० मा बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या कम देखिएको हो ।

आर्थिक वर्ष २०७८/२०७९ बाँकेमा एक सय ५७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७९/२०८० मा १०९ जनामा एचआइभी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रवीन्द्र शाहले जानकारी दिनुभयो ।

नेपालगञ्जमा बिहीबार आयोजना गरिएको अन्तरक्रिया आर्थिक वर्ष २०७८/२०७९ मा ११ हजार ७ सय ४५ जनामा एचआइभी जाँच गर्दा १५७ जना र आर्थिक वर्ष २०७९/२०८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना व्यक्तिमा संक्रमण देखिएको छ ।

यस्तै गत आर्थिक वर्षमा जिल्लामा २१ हजार ४ सय १६ जना गर्भवती महिलामा एचआइभी जाँच गर्दा कसैमा पनि एचआइभी संक्रमण नदेखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एचआइभी जाँच र संक्रमित देखिएको बाँके लगायत अन्य जिल्लाका भएपनि अधिकांश बाँकेका हुन् ।

सो संख्या बाँके जिल्लाभित्र जाँच गराएका बाँकेसहित विभिन्न जिल्लाका संक्रमित भएको उहाँले बताउनुभयो । गत वर्षको तथ्याङ्क अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालबाट ५५६ जना सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् जसमध्ये ४१२ जना बाँकेका छन् ।

गत वर्ष सम्ममा ५५६ जना सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेको भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा.सङ्केत रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुदेखि हालसम्म भेरीबाट सेवा लिएका विभिन्न जिल्लाका १७२ जना सङ्क्रमितको निधन भएको छ ।

डा.रिसालले एचआइभी र एड्स भन्ने दुई भिन्दाभिन्दै शब्द भएको भन्दै एचआइभी र एड्सको भिन्नता बुझाउनु पर्ने बताउनुभयो । शङ्का लागेमा भेरी अस्पतालको २० नम्बरको कोठामा आई निःशुल्क रूपमा परामर्श तथा उपचार लिन सकिने डा.रिसालले बताउनुभयो ।

चेकजाँच पश्चात् एचआइभी भाइरसको सङ्क्रमण देखिएमा तुरुन्त औषधि सेवन सुरु गर्नुपर्ने उहाँको भनाइ छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विविध कार्यक्रमसहित विश्वभर विश्व एड्स दिवस मनाउने गरिन्छ ।

Previous articleमोटरसाइकल चोर पक्राउ
Next articleविपद् प्रतिकार्यका लागि तयार रहन बाँकेका प्रजिअ पोखरेलको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here