
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र बाँकेका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायका प्रमुखहरुसंग समन्वयात्मक बैठक बसिएको छ ।
सो बैठकलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा बाढी, आगलागी, शितलहर, लु (तातो हावा) र सड्क दुर्घटना प्रमुख प्रकोपको रुपमा रहेको बताउनुभयो । उहाँले उक्त विपद्बाट प्रभावित समुदायमा नेपाल सरकार र रेडक्रसले मिलेर तत्काल सहयोग गर्दै आएको कुरा उल्लेख गर्नुभयो ।
उहाँले हरेक वर्ष विपद् प्रतिकार्य योजना निर्माण गर्ने गरिएको तर प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएकोमा निराशा व्यक्त गर्नुभयो । विपद् प्रतिकार्यका लागि मौजुदा सामग्रीहरु तयारी र चुस्त दुरुस्त अवस्थामा राख्न स्थानीय तहलाई अनुरोधसमेत गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनाले हालै भूकम्पबाट जाजरकोट र रुकुम जिल्लाका प्रभावित समुदायलाई रेडक्रसले तत्काल सहयोग गरेको उल्लेख गर्दै विपद् प्रतिकार्यका लागि बाँके शाखा संधै नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउनुभयो ।
बैठकमा प्रजिअ पोखरेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, बज्रदल गणका प्रमुख सेनानी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा, उपअनुसन्धान निर्देशक मोहन कुंवर लगायत नेरेसो बाँके जिल्ला कार्यसमिति र नेपालगञ्ज नगरभित्रका उपशाखाका सभापतिहरुको सहभागिता रहेको थियो ।





