
नेपालगञ्ज । मानव बेचबिखन गरेको आरोपमा बाँकेकी एक महिला पक्राउ परेकी छन् । रोजगारीको प्रलोभन देखाएर भारत लगेर बेचबिखन गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा वडा नं-८ बस्ने ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेको प्रहरीले जनाएको छ ।
मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बिहीबार नेपालगञ्जबाट पक्राउ गरेको हो । सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो ।
सोही उजुरीको आधारमा मल्ललाई पक्राउ गरिएको ब्युरोका प्रहरीले जनाएको छ । मल्ललाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ब्युरोको टोलीले गरेको अनुसन्धानमा मल्लले एक नाबालिकासहित २ जना युवतीलाई बेचेको खुल्न आएको छ । सेतोपाटीबाट साभार





