
नेपालगञ्ज । जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आइतवार त्रैमासिक रक्तदान गरिएको छ ।
कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाता ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं-६ का वडाध्यक्ष लवराज खरेल, समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लिका अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा र होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
सो अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा विगत केही समयदेखि सहकार्य गर्दै अतुलनीय योगदान गरी महान अभियानमा सद्भाव प्रदर्शन गर्ने नेपालगञ्ज-१८, स्थित टिभिएस मोटरसाइकल कम्पनीका अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लिलाई मानव कल्याणकारी कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।
उक्त प्रशंसा पत्र प्रा.लि.का अध्यक्ष ठकुरी र प्रवन्धक रण बहादुर शाहीलाई समाज बाँकेकी अध्यक्ष शाह, जनमतका सम्पादक चुके, राप्तीसोनारी ६ का वडाध्यक्ष खरेल, समाज राप्ती सोनारी उपशाखाकी अध्यक्ष दिव्या गुरुङ, नेपालगञ्ज मेडिकल कलेज एन एच सि एनजिएमसि की अध्यक्ष डा. सिमरन श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।
जनमतको रजत वर्ष-२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५८ औं श्रृङ्खलालाई प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा प्राबिधिक सापकोटा, गिरी, प्रशान्त तिवारी, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा र निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नुभएको थियो ।





