नेपालगञ्जका पानी उद्योगहरुमा अनुगमन, तीन वटालाई कारबाही

नेपालगञ्ज । नेपालगञ्जमा रहेका बिभिन्न पानी उद्योगहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बिहीबार नेपालगञ्ज विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा तीन वटा पानी उद्योगलाई कारबाही गरिएको छ । मापदण्ड विपरीत काम गरी सञ्चालन भइरहेका उद्योगलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

कारबाही गरिनेहरुमा नेपालगञ्जका बिभिन्न स्थानमा रहेका रारा प्रोसेसिङ्ग ड्रिङ्किङ्ग वाटर इन्डष्ट्रि, वाइके ड्रिङ्किङ्ग वाटर इन्डष्ट्रि र न्यू सगरमाथा पानी उद्योग रहेका छन् ।

राराले अनुमतिपत्र नलिई उद्योग सञ्चालन गरेको, उद्योगको निर्माण कार्य भइरहँदा लापरबाही गरि असुरक्षित ढङ्गले पानी उत्पादन गरेको भेटिएकाले कारबाही स्वरुप २० हजार जरिवाना गरिएको छ ।

साथै उद्योगमा रहेका थोत्रा र पुराना २० थान जार समेत नष्ट गरिएको र पानी उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई वटा नमुना परीक्षणका लागि सङ्कलन गरिएको छ ।

त्यसैगरी वाइकेले असुरक्षित तरिकाबाट पानी उत्पादन गरेको पाइएकाले सुरक्षित नबनाइदासम्मका लागि उद्योग शील गरिएको तथा सो उद्योगबाट उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई वटा नमुना परीक्षणका लागि सङ्कलन गरिएको छ ।

सगरमाथाले बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरिवाना गरिएको र उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई नमुना परीक्षणका लागि सङ्कलन गरिएको छ ।

Previous article२३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
Next articleलाईसेन्स बनाईदिन्छु भन्दै ठगी गर्ने बर्दियाका एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here