
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको कार्य शुरु गरेको छ ।
जानकीले गाउँपालिकामा रहेका भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम शुरु गरेको हो ।
मंगलबार एक कार्यक्रममार्फत गाउँपालिकाले वडा नम्वर ६ बाट सो कार्य शुरु गरेको छ । निस्सा वितरण कार्यक्रममा बोल्दै जिल्ला भुमि आयोगका सदस्य एवं विज्ञ अशोक पोखरेले भूमिहिन, दलित, भूमिहिन सुकुम्वासीलाई नेपाल सरकारले तोकेको कानुनी मापदन्ड र प्रकृया पुरा गरेर जग्गाधनी पुर्जा वितरण महाअिभयान सरकारले चलाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका क्षेत्रमा जतिपनि भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीर्ला गाउँपालिकाको पुरै टिम लालपुर्जा दिने प्रयासमा लागेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिस प्रसाद हरिजनले पहिला जसरी जन्मसिद्द नागरिकता पाईन्थ्यो त्यस्तै प्रकारले निस्सा वितरणको पनि काम हुने बताउनुभयो ।
गणकहरु पनि वडा वडामा परिचालित भएको उल्लेख गर्दै जिल्ला सुकुम्वासी भुमि आयोगसँग समन्वय गरेर निस्सा वितरण गरिएको वडा अध्यक्ष हरिजनले बताउनुभयो । साथै निकट भविष्यमा नाप नक्सा गरि जो जसले जती जमिन लिएर बसेका छन् उनीहरुलाई त्यसमै व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो ।
निस्सा वितरण कार्यको प्रयास पहिलाको सरकारले गरेको भएपनि गर्न नसकेकोले अहिलेको सरकारले आफनो कार्यकालमा पुरा गर्ने वडा अध्यक्ष हरिजनले प्रतिवद्दता व्यक्त गर्नुभयो ।
वडा नम्वर ६ का वडाअध्यक्ष हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भुमि आयोगकी सदस्य मिना सिक्देल, जानकी गाउँपालिकाका भुमि आयोग शाखाका सम्पुर्ण कर्मचारी, स्थानीय जनताहरुको उपस्थिती रहेको कार्यक्रमलाई वडा सचिव सम्राट सिंह ठकुरीले सन्चालन गर्नुभएको थियो ।
वडा नम्वर ६ मा मंगलबार ५० जनालाई निस्सा वितरण गरिएको छ ।





