
सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रीत डिजाईन पद्धती सम्बन्धी तीन दिने तालिम सुर्खेतको चौकुनेमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, चौकुने गाउँपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा गाउँपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले आफ्नो व्यवहार परिवर्तन गरेर मात्रै अरुको ब्यहार परितर्वन गर्न सकिने बताउनुभयाे । उहाँले तालिमबाट सिकेको कुरालाई आफुले अनुसरण गरेको कुरालाई समुदायमा गएर बाड्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयाे ।
उद्घघाटन सत्रमा बोल्दै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यले स्वास्थ्य सेवाको पहुँच लक्षित वर्गसम्म पुर्याउन तालिम उपयोगी हुने बताउनुभयाे ।
तालिमको उद्घाटन सत्रमा तालिमको उद्धेश्यमाथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तरगत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरबी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयाे ।
पौष ७ गतेसम्म संचालन हुने तालिमको पहिलो दिन सामाजिक व्यवहार परिवर्तनको अवधारणा, सिद्धान्त, सामाजिक व्यवहार परिवर्तनका लागि प्रभाव पार्ने तत्वहरु लगाएतका विषयमा युनिसेफ नेपालका आचार्यले सहजिकरण गर्नुभएकाे छ ।
चौकुने गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत खोपमा संलग्न २२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको तालिमको सञ्चालन बास नेपालका अधिकृत रबिन्द्र बोहराले गर्नुभएकाे थियाे ।





