
बाँके । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षण सहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकारले लक्षण सहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौं अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
प्रदेश सरकारका प्रवक्ता विमला केसीले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश व्यवस्थापिकाको अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीद्वारा जारी प्रेस नोटमा मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसंँग सम्बन्धित १६ निर्णय गरेको उल्लेख छ।
मन्त्रिपरिषद्ले संघीय सरकारले हालै हस्तान्तरण गरेको वीरेन्द्रनगरस्थित महिला विकास प्रशिक्षण केन्द्रको जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृति दिएको छ।





