
नेपालगञ्ज । भारतको श्रावस्ती जिल्लास्थित भिङ्गामा मानव बेबिखन तथा बाल अधिकारको संरक्षणका लागि सरोकारवालाबीच प्ररामर्श गरिएको छ ।
नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधिहरु सम्मिलित प्ररामर्श बैठकमा दुबै देशका सीमा क्षेत्रमा रहेका मानव बेचबिखन नियन्त्रण लगायतमा सक्रिय भएर लाग्नुपर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतको देहात संस्थाको आयोजनामा भएको प्ररामर्श बैठकमा मानव बेचबिखन, बाल श्रम, बालविवाह लगायतका समस्या दुबै देशमा व्याप्त रहेकाले सरोकारवालाहरुले मौजुदा कानून कार्यान्वयन, रोकथाम तथा उद्धार र पुर्नस्थापनाका लागि समन्वयकारी भुमिका खेल्ने प्रतिबद्धता संयुक्त गरिएको छ ।
कार्यक्रममा भारत श्रावस्तीका बिधायककोतर्फबाट अरमानले मानव बेचबिखन तथा ओसारपसार एवं बालश्रमबिरुद्ध सधैं लागि रहने प्रतिबद्धता संयुक्त गर्नुभयो । देहातका प्रमुख देब्यानी चर्तुबेदीले दुबै देशको समस्या एउटै भएकाले हामी सबै मिलेर संयुक्तरुपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोईरालाले नेपाल र भारत दुबै देशले मानव बेचबिखन एवं बालश्रमबिरुद्ध केही राम्रा कानुनहरु बनाएको हुँदा यसको प्रभावकारी कार्यान्वयन हुन सके समस्या न्युनिकरण हुँदै जाने बताउनुभयो । उहाँले दुबै देशका लागि सामाजिक समस्याका रुपमा सवालहरुमा संयुक्त क्रियाशिलता हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमा भारत श्रावस्ती एएच टियुका प्रहरी अधिकृत पंकज कुमार, श्रम अधिकारी दिनेश कुमार, सिडब्लु सिका अध्यक्ष बिश्राम पासवान, एसएसबिका यसपाल, शक्ति समूहकी संयोजक निर्मला पौडेल, देहातका हसन फिरोज, पत्रकार प्रियब्रत मिश्रा लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा उठेका सवालहरुलाई समाबेश हुने गरी केही दिनमा नै नेपालमा नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागिता अन्तरदेशीय कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको छ ।





