नेपालगञ्जमा उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही

नेपालगञ्ज । बाँकेमा बजार अनुगमनलाई तिब्र बनाइएसंगै उपभोक्ता ठग्ने व्यापारी कारबाही पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बजार अनुगमनलाई तिब्रता दिएसंगै उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारबाहीमा पर्न थालेका हुन ।

प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त छड्के अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानुन बमोजिम कारबाही पनि गरिरहेको छ ।

यही क्रममा सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायसहितको अनुगमन टोलीले नेपालगञ्जका विभिन्न माछा तथा मासु विक्री गर्ने पसलहरुको अनुगमन गरेको छ ।

जमुनाह र धम्बोझी बजारक्षेत्र आसपासका विभिन्न नौ वटा माछा तथा मासु पसल अनुगमन गर्दा ६ वटा पसलले उपभोक्तालाई ठगी गरेको पाइएपछि तिनीहरुलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

कारबाही गरिएकाहरुमा मो.सरिफ फ्रेश हाउसले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप २० हजार रुपियाँ जरीवानाका साथै पसलबाट खसीको मासु ७ किलो र कुखुराको मासु ३ किलो ८ ग्राम खान अयोग्य रहेको पाइएकाले जफत गरी नष्ट गरिएको छ ।

यस्तै बिस्मिल्लाह फ्रेस हाउसले पनि बिल बिजक बिना कारोबार गरेको पाइएकाले १० हजार रुपियाँ जरिवाना गरिएको छ । सुफियाना फ्रेस हाउसबाट मङ्गुर माछा ३ किलो, कुखुराको मासु २ किलो ५ ग्राम र अन्य जातको माछा २९ किलो खान अयोग्य पाइएकाले जफत गरी नष्ट गरिएको छ भने बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरीवाना गरी कारबाही गरिएको छ ।

हाम्रो फ्रेस हाउसबाट पनि खसीको मासु ११ किलो र कुखुराको मासु ३ किलो ५ ग्राम खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गरिएको छ ।

त्यसैगरी जमुनाह बजार क्षेत्रमा खुल्ला रुपमा सडक पेटीमा माछा बेचिरहेका दुई जना विक्रेताले अनुगमन टोलीलाई देखेर भागी फरार थिए । विक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको थियो ।

सो स्थानबाट ८ हजार २ सय ८० रुपियाँ नगद, नोकिया मोबाइल एक थान, माछा काट्ने औजार र ढक तराजु दुई थान बरामद गरी मुचुल्कासहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

Previous articleएलिना चौहानको प्रस्तुतिमा झुमे नेपालगञ्जका दर्शक
Next articleराजापुर-गेरुवा-भौंरा टप्पा मञ्चले गर्याे रक्तदान, ३० जना सहभागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here