
नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व.राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले छुवाछूत हटाउने सन्देश दिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यको छैठौं वार्षिक पुण्यतिथिको अवसरमा शनिबार बाल्मीकी समुदायका ६७ वर्षीय वृद्ध मैकुलाल बाल्मीकीको खुट्टा धुवाई नयाँ वस्त्र पहिराई कदर सम्मान गरिएकाे छ ।
यो खुट्टा धुने कार्य स्व.वैश्यका साईंलो छोरा अजय कुमार गुप्ताले गर्नुभएकाे थियाे । कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले असहाय व्यक्तिलाई न्यानो कम्बल ओढाउनुभएकाे थियाे ।
कार्यक्रमबीच प्रतिष्ठानले कसौंधन वैश्य समाज, बाँकेका अध्यक्ष सन्तोष कुमार वैश्य (सोयाबीन)लाई फूलमाला लगाई कदर सम्मान गरेको थियो ।
दलित ज्येष्ठ नागरिक मैकुलाल बाल्मीकीको कदर सम्मान गर्दै उपाध्यक्ष अजय कुमार गुप्ताले तराई भेगबाट छुवाछुत र तल्लो उपल्लो जातिबीचको भेदभावको अन्त भईसकेको बताउँदै नेपालको हिमाली पहाडी भेगमा यस्तो छुवाछुतको भावना अझै रहेको उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जालहरुबाट जानकारी हुँदै रहेको यस्ता कराहरूकाे अन्त्य हुनुपर्छ, यस्तो कुरीतिबाट हाम्रो समाज पछाडि पर्दै गएको छ । समाजलाई अघि बढाउनु छ भने अब सबै प्रकारको छुवाछुतको अन्त हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘लगनशीलता र आँट गरे यस्तो कुरीतिको अन्त्य अवश्य हुन्छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव रुद्र सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी, कानून व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो ।
२०७४ पाैष ७ गते स्व. वैश्यको स्वर्गारोहण भएको थियो । सो पछि उहाँको स्मरणका लागि समाजसेवी नन्दलाल वैश्यको अध्यक्षतामा गठित स्मृति प्रतिष्ठानले स्थापनाकालदेखि विविध सामाजिक कार्य गर्दै आएको छ ।
बर्दियाको राजापुर बजारमा वि.सं.२००१ सालमा जन्मिनु भएका स्व. वैश्यले बाँके र सुर्खेतमा विभिन्न सरकारी पदमा कार्यरत रही कार्य गर्नु भएको थियो । विभिन्न व्यापार पेशा अपनाउँदै पत्रकारिता क्षेत्रको लागि अग्रणी भई कार्य गर्नुभयो ।





