
नेपालगञ्ज । सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु-१६ कप क्रिकेट आइतबार फराकिलो अन्तरले जित हासिल गरेको छ । नेपालगञ्ज मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा जेभियर्सले ड्रिमल्यान्डलाई २ सय ६ रनले हराएको हो ।
पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडन सफल भएको थियो । प्लेयर अफ द म्याच पंकजले १ सय २८ रन बनाउनुभयो ।
पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो । जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्ति जंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाउनुभयो । ड्रिमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २-२ विकेट लिनुभयो ।
जवाफमा ड्रिमल्यान्डका खेलाडी ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएका थिए । ड्रिमल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । जेभियर्सका पंकज केसी, शक्ति जंग शाही, बिपिन खनाल र कमलेश गुप्ताले २-२ विकेट लिनुभयो ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शनिबार संघीय सांसद एवम् नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।





