
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ ।
संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधीजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधी (फोहोर) फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा.अस्मित आचार्यले बताउनुभयो ।
सडकमा जथाभावी औषधीजन्य फोहोर फालेको कम्प्लेनपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरी, औषधी व्यवस्था विभाग तथा बाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो ।
सडकमा जथाभावी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासंगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको आचार्यले जानकारी दिनुभयो ।
नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहोर संकलन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 





