पाैष २४ देखि नेपालगञमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला हुने

नेपालगञ । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण गर्न यही पाैष २४ देखि नेपालगञमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला संचालन हुने भएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन र नव उद्यमीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले हरेक वर्ष गर्दै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई निरन्तरता दिँदै यही पाैष २४ देखि २८ गतेसम्म आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला संचालन हुने भएकाे हाे ।

महिला उद्यमी संघ बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आर्कषित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्यका साथ प्रर्दशनी मेला गर्न लागिएको जनाईएकाे छ ।

पत्रकार सम्मेलनमा बाेल्दै संघ बाँकेकी अध्यक्ष सावित्रा बस्नेतले देशलाई आर्थिक रुपमा बलियो बनाउन घरेलु उत्पादन, स-साना घरेलु उद्योगहरुको भुमिका महत्वपुर्ण भएकाे बताउनुभयाे ।

´हामीले तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरणमा सहयोग गर्ने अभिप्रायले यस पटक पनि नयाँ उत्साहका साथ मेला आयोजनाको लागि तयारी गरिरहेका छौं,अध्यक्ष बस्नेतले भन्नुभयाे, आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् ।

प्रदर्शनीमा करिब १० लाख खर्च हुने अनुमान गरिएकाे छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोक गर्ने अनुमान आयाेजककाे छ ।

नेपालगन्ज उप-महानगरपालिका वडा नं-२ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । साथै कर्णाली र सुदुरपश्चिबाट केहि महिला उद्यमीहरु प्रदर्शनीमा सहभागि हुने आयाेजककाे भनाइ छ ।

यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलो पटक सहभागि हुने अध्यक्ष बस्नेतले बताउनुभयाे ।

प्रदर्शनीलाई नयाँ अभ्यास गर्ने क्रममा हामीले गत वर्षदेखि विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर सुरुआत गरेको नव उद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल रहनेछ । जसमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसि रेसिडेन्ट स्कुलका विद्यार्थीको स्टल रहनेछ ।

यस पटक अर्को नयाँ अभ्यास गर्ने क्रममा प्रदर्शनीमा सहभागि भएका स्टलहरुमध्ये बाँकेबाट सहभागि भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागि भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गरिनेछ ।

महिला उद्यमीको समस्या र चुनौतीको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको प्रदर्शनी संयोजक रेबती सिंहले जानकारी दिनुभयाे ।

पत्रकार सम्मेलनमा महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रीय सदस्य तथा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, पूर्व अध्यक्ष, पदाधिकारी, सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

Previous articleसडकमा फोहोर फाल्ने नेपालगञकी नन्दादेवीलाई दश हजार जरिवाना
Next articleबित्तीय सहकारीको घोटाला मुद्दामा १९ जना दोषी ठहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here