
नेपालगञ्ज । मंगल प्रसाद उच्च मावि प्रथम किशोर सिंह राठौर यु-१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा मंगल प्रसादले आदर्श स्कुललाई ३८ रनले पराजित गदै फाइनलमा प्रवेश गरेको हो । मंगलबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगञ्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो । मंगल प्रसादका लागि मोहम्मद अबु साहेमा खानले २८ रन, साहिल शेख र सागर केवटले १८-१८ रन बनाउनुभयो । आदर्शका जीवन बटाला र समिर थापाले २-२ विकेट लिनुभएको थियो ।
१ सय २९ रनको लक्ष्य सहित मैदानमा आएको आदर्श ९० रन मात्र बनाउँदै अलआउट भएको थियो । आदर्शका टोपेन्द्र रोकायले १८ रन र बिशाल खत्रीले १७ रन बनाउनुभएको थियो । मंगल प्रसादका अजय घसियारा, फरहान शेख र अजाम खानले २-२ विकेट लिए । खेलमा मंगल प्रसादका मोहम्मद अबु म्यान अफ द म्याचबाट पुरस्कृत हुनुभयो ।
उहाँलाई ब्राइटल्यान्ड स्कुलका प्रिन्सिपल विजय लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ । ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् । प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।





