
नेपालगञ्ज । विश्वभरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
बास नेपालको आयोजनामा आज नेपालगञ्जको धम्बोझी चौकमा आयोजित नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोशाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य भोला सिद्धिकीले नेपाली टोपीलाई शान र पहिचानको रुपमा प्रयोग गर्न सबैलाई अपिल गर्नुभयो । नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिहरुले समेत नेपाली टोपीलाई महत्व नदिनु लज्जास्पद रहेको भन्दै जनस्तरबाट नेपाली टोपीको महत्वलाई उजागर गर्ने बासलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
उहाँले अर्को बर्ष टोपी दिवसलाई सबै मिलेर भब्यताका साथ मनाउने गरी अगुवाई गर्न बासलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै मुस्लिम अगुवा रहमान मिया र कादिर अन्सारीले नेपाली टोपीका कारण साउदीसम्म फरक पहिचान बनेको भन्दै नेपाली टोपी हरेक नेपालीको शान भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै हरित अभियन्ता हेमन्तराज काफ्लेले विश्वमा फरक पहिचानको रुपमा रहेको नेपाली टोपीले देशको स्वाभिमान झल्काएको बताउनुभयो । बरिष्ठ कलाकार सुन्दर गुरुङ्गले नेपाली टोपी लगाउदा गर्वको अनुभुती हुने जनाउनुभयो ।
सामाजिक अभियन्ता झविलाल शर्माले टोपी दिवसलाई देशैभरी महत्वका साथ मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता नमिता श्रेष्ठले पश्चिमी संस्कृतिले गाँजीरहेको नेपाली समाजमा सबै मिलेर नेपालीपनलाई जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले हाम्रो गौरव हाम्रो सान नेपाली टोपी हाम्रो पहिचान नाराका साथ नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गर्दै साझा कार्यक्रमको रुपमा विकास गर्दै लैजाने उद्धेश्यले विगतका बर्षहरुदेखि नै बासले टोपी दिवस मनाउदै आएको स्पष्ट पार्नुभएको थियो ।





