
राप्तीसाेनारी । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि भएको बताएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं-४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा विहीबारदेखि सुरु भएको छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले राप्तीसोनारीबाट प्रतिनिधित्व गरेर थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय भूमिमा नेपालको झण्डा फहराउँदै पदक भित्र्याइसकेकाले पनि राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि भएको प्रष्ट्याउनुभयाे ।
‘राप्तीसोनारीमा थुप्रै खेलाडीहरु छन् उहाँले भन्नुभयाे, ती खेलाडीहरुको संरक्षण, सम्बद्र्धन र प्रर्वधनका लागि पालिकाले गर्नुपर्ने सहयोगका लागि सधै पालिका सकारात्मक छ ।’ उहाँले गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठूलो टेवा पु¥याउने उल्लेख गर्नुभयाे ।
उहाँले प्रतियोगितालाई निष्पक्ष बनाउन खेल प्रशिक्षक तथा व्यवस्थापकहरुलाई निर्देशन समेत दिनुभयाे । कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व कृषिमन्त्री प्रेमबहादुर भण्डारीले खेलकुदले एकताको सन्देश दिने भएकाले खेल विधा महत्वपूर्ण भएको बताउनुभयाे ।
उहाँले प्रतिस्पर्धालाई सौहार्दतापूर्ण बनाउन आग्रह गर्नुभयाे । स्वास्थ्य र खेलकुद मानव जीवनका अभिन्न अंग जस्तै भएकाले खेलकुदलाई सँगसँगै अगाडि बढाउन सुझाव दिनुभयाे ।
गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयाे । उहाँले गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई पनि जोड दिएको उल्लेख गर्नुभयाे ।
उद्घाटनसत्रको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका अगुवा, समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयाे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप रजकको सभापतित्वमा भएको हो । जनशक्ति माध्यामिक विद्यालयको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय र सहकार्यमा सुरु भएको प्रतियोगितामा ५२ विद्यालयका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धाका लागि भाग लिएका छन् ।
आधारभूत तहमा दुई सय १६ र माध्यामिक तहमा एक हजार विद्यार्थी प्रतिस्पर्धामा सहभागि भएका छन् । भलिवल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट बिधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।





