
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृति दिवस सोमबार मनाइएको छ । ‘प्रेस स्वतन्त्रता, वरिष्ठ पत्रकार स्वर्गीय सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो ।
मानव सेवा आश्रम नेपालगञ्जमा प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले स्वर्गीय गुप्ता कलमजिवी भएको र सदैब उहाँले कलमलाई हतियारको रुपमा प्रयोग गरेको स्मरण गर्नुभयो ।
प्रतिष्ठानले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको भन्दै उाँले भन्नुभयो, ‘जति गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं, पुरा गर्ने प्रण गर्दछु, उहाँको नाममा स्मारिका प्रकाशन गर्ने सोच छ ।’ प्रतिष्ठान भर्खरै स्थापना भएको र आर्थिक रुपमा स्रोत जुटाउन नसक्दा केही काम गर्ना कठिनाई भएको महासचिव चौलागाईले सुनाउनुभयो ।
यस्तै नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओलीले स्वर्गीय गुप्ताले नेपाली पत्रकारितामा महत्वपूर्ण कुराहरु सिकाएर गएको बताउनुभयो । ‘हामी नाती पुस्ताले धेरै कुराहरु सिक्ने अवसर पायौं, जिवित छदाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए,’ उहाँले भन्नुभयो ‘नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष भएको नाताले हामीले उहाँको नाममा पुरस्कार स्थापना गर्नेदेखि लिएर उहाँ जिवित रहँदा युनियनले जन्मोत्सव मनाउनेदेखी नागरिक अभिनन्दनसहित रथारोहन गराएका थियौं ।’
स्वर्गिय गुप्ता अहिले नरहेपनि उहाँको योदानलाई आगामी दिनमा पनि सम्झिदै जानुपर्ने र नयाँ पुस्तालाई सिकाउनुपर्ने निर्वतमान अध्यक्ष ओलीले जोड दिनुभयो । युनियन बाँकेले विगतमा स्वर्गीय गुप्ताको नाममा त्रिभुवन चोक पुर्वतर्फको सडक तथा निवास नजिकै रहेको चोकको नामाकरण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिका, पत्रकार महासंघ लगायत सरोकारवाला निकायसँग आवश्यक पहल तथा समन्वय गरेको पनि निर्वतमान अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्वरर्गीय गुप्ताका परिवार तथा आफन्तजन, युनियन बाँकेका निर्वतमान सचिव विजय मल्ल लगायतको उपस्थिति रहेको थियो । सो क्रममा प्रतिष्ठानले आश्रममा बसिरहेका करिव ५५ जना आश्रित ब्यक्तिहरुलाई सोमबार बेलुकाको भोजन गराएको थियो ।





