बिदेश जाने मिथलेश गँड्यौला खेतीमा सम्भावना खोज्दै

नेपालगञ्ज । नेपालगञ्जका मिथलेश पासी जो उमेरले २३ मा लाग्नुभएको छ । उहाँलाई आफ्नो परिवारको जीवन कसरी अगाडी बढाउने भन्ने चिन्ता छ । दुई वर्षअघि प्लस टु अध्ययन गरिसक्नुभएका मिथलेसलाई आर्थिक रुपमा सक्षम हुन के गर्ने चिन्ताले सताउँथ्यो ।

मधेशी समुदायका मिथलेशलाई छोरा ठुलो भइसकेपछि परिवारको जिम्मेवारी निर्वाह गर्ने अभिभावकको आशा बढेर जान्छ । छोराले कमाएर ल्याएपछि जीवन निर्वाहमा सहज हुन्छ भन्ने अभिभावकले सोंच्न थाल्छन् । यो हुनु स्वाभाविक पनि हो । बिपन्न परिवारमा त झन छोरो ठुलो भएपछि अब सारा जिम्मेवारी लिन्छ भन्ने अभिभावकको ठुलो आशा हुन्छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ को पुरैनी बस्ने मिथलेस यस्तै समस्याका बीच कसरी अघि बढ्ने भन्ने थियो । अध्ययन गरिसके अब केही काम गर्नुपर्छ भनेर उहाँलाई के गर्ने भनेर ठम्याउनै गाह्रो भयो । नेपालमा राम्रो अवस्था भएको परिवारको सदस्यलाई उद्यम गर्न गाह्रो रहेको अवस्थामा बिपन्न परिवारको सदस्यलाई गर्न सकिन्छ भन्ने सोंच्न पनि सक्दैनन् । तर परिवारको सहयोगी बन्नका लागि केही त गर्नै पर्यो ? त्यसका लागि उहाँले बिदेश जाने बाहेक अर्को बिकल्प देख्नुभएन ।

मिथलेसले बिदेश जाने तयारी पनि शुरु गर्नुभयो । ऋण लिने कुरा पनि तय भयो । यही बीच उहाँलाई लघु उद्यम बिकास तालिममा सहभागि हुने अवसर आयो र बिदेश गएपनि तालिम लिँदा राम्रै होला भनेर तालिममा सहभागि हुनुभयो । लगत्तै उहाँले जीवन उपयोगी सीप सम्बन्धि तालिम लिनुभयो । नेपालगञ्जमा युवाको क्षेत्रमा काम गर्दै आएको सामाजिक बिकास मञ्च (एस डि एफ) ले दिएको त्यो अवसर उहाँका लागि आर्थिक रुपमा अघि बढ्न बाटो बन्यो ।तालिम लिएपछि उहाँ केही उद्यम गर्नुपर्ने निष्कर्षमा पुग्नुभयो । अरुले गरिरहेको उद्यमभन्दा फरक गर्न गँड्यौला फर्म संचालन गर्छु भनेर निधो गर्नुभयो । सोपछि मञ्चले आर्थिक रुपमा त्यो फर्म बनाउन सहयोगी बन्यो । मञ्चले सेभ द चिल्ड्रेनको साझेदारीमा तालिम प्रदान गरेको थियो । गँड्यौला खेती गर्न थाल्छु भन्ने सुनेर टोल छिमेक तथा साथी भाईले मिथलेशको खिल्ली उडाए । तर उहाँले खिल्लीपछि नलागेर केही गर्ने अठोटका साथ गँड्यौला खेती गर्न शुरु गर्नुभयो ।

उहाँले गँड्यौला पालन सम्बन्धी तीन दिने तालिम लिनुभयो । गँड्यौला पालनका लागि चाहिने पिट वा (गड्यौला पाल्न बनाइने संरचना) मञ्चले निर्माणमा सहयोग गर्यो । उहाँले आफ्नो मिहिनेत लगाउन शुरु गरे । शुरुमा एक टयाक्टर गोबर ल्याएर पिटमा हालेर र यसैबाट आर्थिक आम्दानी गर्न सकिने भनेर लाग्नुभयो ।

उहाँको मेहनतको करिब चार महिनामा गँड्यौलाबाट उत्पादन भएको मल बेच्न पनि शुरु गर्नुभएको छ । अहिलेसम्म उहाँले दश क्विन्टल मल बिक्री गर्नुभएको छ । केही छिमेकीलाई दुई चार किलो मल निःशुल्क दिनुभएको छ । यो मलले खेतवारीका लागि जीवन प्रदान गर्ने कुरा तथा आवश्यकता बुझाउन र प्रचारप्रसार गर्न छिमेकीलाई प्रयोगसिद्धका लागि निःशुल्क दिएको मिथलेशले बताउनुभयो ।उहाँले थालेको कामबाट अभिभावकमा पनि आशा पलाएको छ ।

शुरुमा अभिभावकले समेत नपत्याएको मिथलेशको निरन्तरको मिहिनेत र लगनले केही आशा पलाएको छ । गँड्यौलाबाट उत्पादन भएको मल दुई हजार पाँच सय रुपैयाँ क्विन्टलमा बिक्री हुन्छ । उहाँले उत्पादन गरेको मल जुम्ला पठाउनुभएको छ । सानो बोरा प्रति केजी ३० रुपैया र ठुलो बोरा प्रति केजी २५ रुपैयामा बिक्री हुन्छ भने गँड्यौला दुई हजार रुपैया किलोमा बिक्री हुन्छ । आफ्नो उद्यमलाई फराकिलो बनाउन उहाँले फर्म पनि बनाउनुभएको छ । एम.एस अर्गानिक एग्रो फर्म नामबाट उत्पादन उहाँले बिक्री थाल्नुभएको हो ।साथै फर्ममा उत्पादन भएको मल आफ्नै खेतमा समेत प्रयोग गर्नुभएको छ । अर्गानिक मलको प्रयोगले अघिल्लो वर्षको भन्दा यो वर्ष खेती राम्रो भएको उहाँले बताउनुभयो । मिथदेशले अब यसैलाई व्यवसायीक रुपमा लैजाने योजना समेत बनाउनुभएको छ । एउटा सटरमा गँड्यौला, मल र बिउबिजन राखेर व्यवसायीकतामा जाने उहाँको योजना छ । योसंगै उहाँले स्नातकस्तरको अध्ययन पनि शुरु गर्नुभएको छ ।

उहाँले सामाजिक अन्तर्गत आम्दानीको केही रकम बालबालिकालाई छात्रबृति सोंच बनाउनुभएको छ । मञ्चले नेपालगञ्जमा संचालन गरेको पावर फोर एवाई परियोजना अन्तर्गत कामको अवसर खोजी रहेका युवाहरुलाई उद्यम बिकास तालिम तथा सटार्टप सहयोग प्रदान गरेर स्वरोजगार बनाइरहेको छ ।

गड्यौली मलमा पाइने खाद्य तत्वहरु :
नाइट्रोजनः २.५ – ३.० % क्याल्सियमः ०.५ – १.० %
फस्फोरसः १.५ – २.० % म्याग्नेसियमः ०.२ – ०.३ %
पोटासः १.५ – २.४ % सल्फरः ०.४ – ०.५ %
र अन्य सुक्ष्म खाद्यतत्व, भिटामिन, इन्जाइम् र हर्मोनहरू

गँड्यौले मलको फाइदा :
यो मल कालो, गन्ध विहिन र बुरबुराउँदो हुन्छ । यसमा साधारण कम्पोष्ट मलभन्दा खाद्य तत्वहरू बढी रूपमा पाइन्छ । यो मलमा पानी सोस्ने भारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा देखिन्छ । गँड्यौला मल बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ ।

यस मलमा विषालु तत्व र अनावश्यक बिउ पाइँदैन । गँड्यौला कृषकको असल मित्र भएकाले बोटविरुवाका लागि माटो खुकुलो र मलिलो बनाउँछन् । जसले गर्दा उत्पादनमा वृद्धि भई किसानको जीवनस्तर सुदृढ बन्दै जान्छ । हाँस कुखुरा पालनका लागि पनि गँड्यौला आवश्यक मानिन्छ ।

Previous articleनरैनापुर-३ मा स्वास्थ्य शिविर, दुई सय बढीलाई सेवा प्रदान
Next articleक्यान्सर जितेकालाई खजुरा क्यान्सर अस्पतालको सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here