
नेपालगञ्ज । बाल विवाहमुक्त नेपालगञ्जलाई दिगो बनाउन नेपालगञ्ज वडा नं-२० मा बाल अधिकार समिति, बाल क्लब, तथा धर्म गुरुहरुबीच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई बाल विवाहमुक्त दिगोपना बनाउन सबै क्षेत्रको भूमिका अपरिहार्य भएकाले सबैको सक्रियताका लागि शुक्रबार सरोकारवालाबीच एक दिने अभिमुखिकरण गरिएको हो ।
नेपालगञ्जलाई २०७८ सालमा बाल विवाहमुक्त पालिका घोषणा गरिएको छ । सोही बेला भएको एक अध्ययनका अनुसार वडा नं-२० मा ५ दशमलव ४७ प्रतिशतमा बालविवाह हुने गरिएको देखिएको छ ।
यस वडाका १९३ घरधुरीमा गरिएको सर्वेक्षणले बाल विवाह हुने बिभिन्न कारणहरु समेत देखा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाकी महिला बिकास अधिकृत पबित्रा पुरीका अनुसार बाल विवाहमुक्त समाज निर्माणका लागि अभिमुखिकरण गरिएको हो ।
यस्ता कार्यक्रमले स्थानीयहरुलाई सरकारको नीति नियम लगायतका प्रावधानहरुका बारेमा जानकारी मिल्न सहज हुने र बाल विवाह बिरुद्धको अभियानमा सहयोगी हुने अधिकृत पुरीले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा वडा सदस्य, बाल अधिकार समितिका पदाधिकारी, बाल क्लब, वडास्तरीय अपाङ्गता संजालका पदाधिकारी र स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । अभिमुखिकरणमा बाल विवाह मुक्त समाज निर्माणका लागि स्थानीय नेतृत्वकर्ताले भूमिका जस्ता बिषयबस्तुमा छलफल गरिएको थियो ।





