नगर आम संचार नीति कार्यान्वयनमा ल्याउँदै उपमहानगर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका आफैले निर्माण गरेको नगर आम संचार नीति कार्यान्वयनमा तदारुक्ता देखाएको छ । कार्यान्वयन गर्ने तयारी गरेको उपमहानगरपालिकाले शुक्रबार नेपालगञ्जमा रहेका बिभिन्न संचार संस्थाका प्रमुखहरुबीच छलफल गरेको छ ।

छलफलमा बोल्दै नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले नीति कार्यान्वयनका लागि आफुहरु अघि बढेको बताउनुभयो । उहाँले अघिल्लो नेतृत्वले निर्माण गरेको नीति कार्यान्वयन गर्नु हाम्रो दायित्व भएकाले आफु यो कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभयो ।

यो नीतिले यहाँका स्थानीय संचारसंस्थाको बिकासमा सहयोग पुग्ने उहाँको भनाई छ । त्यसका लागि कसरी जाने भन्ने बिषयमा छलफल गरेर र केही मापदण्डहरु निर्माण गरेर मात्रै अघि बढ्ने नगरप्रमुख बिष्टले बताउनुभयो ।

यस्तै नगर उपप्रमुख कमरुद्दिन राईले संचार नीति कार्यान्वयन भएसंगै जीर्ण अवस्थामा रहेका मिडिया हाउसको संरक्षण गर्न सकिने बताउनुभयो । उहाँले बिशुद्ध पत्रकारिता गर्नेहरुलाई केही राहत मिल्ने भएकाले हामीले यो कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ का वडाअध्यक्ष एव उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उपमहानरको यो कदमले संचार संस्थालाई नियमन पनि गर्न बाध्य पार्ने र सूचना प्रकाशनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सक्रिय बनाउन मद्दत पुग्ने बताउनुभयो ।

छलफलमा नेपालगञ्ज-१८ का वडाअध्यक्ष दिपक बर्मा र वडा नं-२० का वडाअध्यक्ष कौशल कुमार धोवीको समेत उपस्थिति रहेको थियो । उपमहानगरपालिकाले २०७८ सालमा नगर आम संचार नीति जारी गरेपनि हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

Previous articleबाल विवाहमुक्त नगरलाई दिगो बनाउन वडा नं-२० मा अभिमुखिकरण
Next articleदादुरा-रुबेला खोप प्रभावकारी बनाउन जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here