
बाँके । जिल्लामा कोरोना संक्रमितको संख्या तीन हजार तीन सय १३ पुगेको छ । कोरोना भाइरसको महामारी शुरु भएदेखि हालसम्म जिल्लामा संक्रमित हुनेहरुको संख्या तीन हजार पार गरेको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाको आठ वटै स्थानीय तहमध्ये सबैभन्दा बढि कोरोना संक्रमितको संख्या नेपालगञ्जमा छन् । नेपालगञ्जमा हालसम्म एक हजार पाँच सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै नेपालगञ्जपछि सबैभन्दा बढि संक्रमित कोहलपुरमा छन् । यहाँ हालसम्म पाँच सय ५० जनामा संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज र कोहलपुरको जनसंख्या बढि भएकाले पनि संक्रमणको दर बढिरहेको देखिन्छ । त्यसपछि जिल्लाका सरकारी तथा गैरसकारी लगायत कार्यलयका कर्मचारी, जनप्रतिनिधिहरुमा समेत कोरोना पुष्टि हुनेको संख्या बढि छ । संकट व्यवस्थापन केन्द्रका अनुसार यसमा चार सय ४८ जनामा कोरोना पुष्टि भएको छ । केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जिल्लामा मानिसहरुको उपस्थिति बढि हुने सरकारी तथा गैरसरकारी कार्यालयमा बढि संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै खजुरा गाउँपालिका समेत संक्रमण देखिनेमा अग्र स्थानमा छ । यहाँका दुई सय ४८ जनामा कोरोना देखिएको हो । यसपछि राप्तीसोनारीमा एक सय ४४, नरैनापुरमा एक सय २२, बैजनाथमा एक सय १२ र जानकी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा कोरोना पुष्टि भएको छ । यहाँ हालसम्म ४५ जनामा मात्र कोरोना पुष्टि भएको छ जबकी यो गाउँपालिका भारतीय सीमासंग जोडिएको र यहाँका मानिसहरु छोटी भन्सार नाका भएर सजिलैसंग ओहर दोहार गर्छन् ।





