
बाँके । जिल्लामा शुक्रबार पाँच घण्टामा चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएर जिल्लामा उपचाररत चार जनाको शुक्रबार दिउँसो दुई बजेदेखि ७ साँझको सात बजेसम्म पाँच घण्टाको अवधीमा मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँकेका एक जना र तीन जना जिल्ला बाहिरका छन् । बाँकेमा रातीसोनारी गाउँपालिका वडा नं–८ का एक ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई श्वास प्रश्वासमा समस्या भएपछि यही २ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।
३ गते भेरीको प्रयोगशालाबाट उनमा कोरोना संक्रमण रहेको पुष्टि भएसंगै बिग्रदै गएको उनको स्वास्थ्य उपचारका क्रममा सबै पद्दतिमार्फत उपचार गरिएको भएपनि साँझ ५ः२० मा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । साथै उनको स्वास्थ्य जटिलताका कारण मृत्यु भएको समेत जनाएको छ । मृतककै उपचारका क्रममा यही २० गते गरिएको परीक्षणबाट उनी कोरोना संक्रमणमुक्त भएका थिए । योसंगै बाँकेमा कोरोना संक्रमण देखिएको मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ ।
यस्तै शुक्रबार नै दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं–५ का एक ७६ वर्षीय पुरुषेको मृत्यु भएको छ । यही १२ गते शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनमा १३ गतेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शुक्रबार साँझ ६ः४० मा मृत्यु भएको हो । उनमा कोरोना संक्रमणसंगै डायबिटिज रहेको थियो । योसंगै दाङको तुल्सीपुर–१० की अर्की एक २० वर्षीया महिलाको मृत्यु भएको छ । निमोनिया रहेको उनी १६ गते प्रसुतिका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिईन । उनी पाँच दिनेको सुत्केरी थिइन ।
१८ गते साँभ पाँच बजे कोरोना पुष्टि भएपछि सोही दिन राती ९ बजे कोभिड वार्डमा भर्ना गरिएको उनको शुक्रबार दिउँसो ३ः२० मा मृत्यु भएको हो । त्यस्तै कोहलपुरमै भर्ना रहेकी कैलालीको टिकापुर नगरपालिका वडा नं–१ की ५६ वर्षीया महिलाको शुक्रबार दिउँसो २ः४५ मा मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा २० गते भर्ना भएकी उनको मृत्यु पश्चात आएको परीक्षण नतिाजमा कोरोना पुष्टि भएको थियो । योसंगै जिल्लामा उपचारका लागि आएका मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।









