
नेपालगञ्ज । नेपालगञ्जमा रहेका सार्वजनिक शौचालयहरुको अवस्था जीर्ण रहेको पाइएको छ । नेपालगञ्जमा सर्वसाधारणका लागि विभिन्न स्थानहरुमा निर्माण गरिएका सार्वजनिक शौचालय जीर्ण रहेको पाइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवालाहरुले शुक्रबार गरेको अनुगमनबाट भएका सार्वजनिक शौचालयको अवस्था जर्जर रहेको देखिएको हो । स्थानीय सरकारका रुपमा रहेको उपमहानगरपालिकाको सक्रियता नदेखिएकाले यस्तो अवस्था निम्तिएको केही सर्वसाधारणहरुले बताए ।
नेपालगञ्ज बजार बिभिन्न कामको सिलसिलामा आउने सर्वसाधारणहरुलाई सजिलो होस भनेर नेपालगञ्जका विभिन्न ११ स्थानमा सार्वजनिक शौचालय छन् । तर ठेक्का दिइसकेकोपछि त्यसको निरन्तर खबरीदारी, अनुगमन र दिगोपनाका लागि उपमहानगरपालिकाले वेवास्ता गर्दै आएको देखिएको छ । जसका कारण शौचालयहरु जीर्ण भेटिएका हुन् ।
शुक्रबार नेपालगञ्जको नेपाल भारत सीमा क्षेत्र जमुनाहा नाका, वडा नं-१६ को जैसपुर चौक, वडा नं-१० को भेरी अस्पताल, वडा नं-९ को मासुमण्डी, वडा नं-१२ को धम्बोझी र वडा नं-२० को राँझा चोकमा रहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको हो ।
भेरी अस्पताल, मासुमण्डी र धम्बोझीमा रहेको शौचालमा मर्मतको कार्य भइरहेकाले त्यहाँको अवस्था राम्रो रहेको छ भने अन्य स्थानमा रहेका शौचालयहरुमा मर्मत गर्नुपर्ने आवश्यकताका साथै अपाङ्गतामैत्री नरहेको देखिएको छ ।
उपमहानगरपालिकाका वडा नं-६ का वडाअध्यक्ष एवं वातावरण तथा बिपद व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले धेरै ठाउँमा कमी कमजोरी देखिएको बताउँदै आवश्यक कार्य गरिने बताउनुभयो । उहाँले ठेक्का सम्झौता भएको व्यक्तिबीच भएको सम्झौताको बुँदाहरु अध्ययन गरेर के के गर्न सकिने गर्न लगाइने जानकारी दिनुभयो ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले नेपालगञ्जका सार्वजनिक शौचालयहरु स्वच्छ र संक्रमणरहित बनाउनका लागि निरन्तर कार्य गर्दै पछिल्लो समयमा भेरी अस्पताल र मासु मण्डीस्थित शौचालयको आधुनिक तरिकाले मर्मत गरेको छ ।
एस.एन.भि.नेपालको सहयोगमा शौचालयहरु मर्मत गरिएको गेरुवाका कार्यक्रम संयोजक अब्दुल गफ्फार शेषले जानकारी दिनुभयो ।
गेरुवाकै सक्रियतामा शुक्रबार भएको अनुगमनमा उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजिया, बिना थापा, मोहम्मद मुजम्मील हुसेन, वातावरण इन्जिनियर प्रकाश डिसी, पत्रकारको सहभागिता रहेको थियो ।





