
नेपालगञ्ज । नेपालगञ्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वय, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लिको सहयोगमा भएको त्रैमासिक रक्तदान कार्यक्रममा ६ महिलासहित ४० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडीलगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् । रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, साप्ताहिकका सम्पादक पूर्णलाल चुके, पोेलिपाइप प्रालिका सञ्चालक कमल कुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५९ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा रक्तदाता समाज बाँकेकी अध्यक्ष शाह, राप्तीसोनारी गाउँपालिका रक्तदाता समाजकी उपाध्यक्ष अमृता केसी, दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डटकमका सम्पादक शंकर प्रसाद खनाल, नियमित रक्तदाता लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, गौतम प्रसाद पौडेल, एसओएस युवालय नेपालगञ्जकी सहायक निर्देशक मीना भुषाल (तुलाधर) ले रक्तदान गर्नु भएको छ ।
यस्तै स्वयम्सेवी रक्तदाता दिनेश थापाले दुई महिनाको छोरा बोकेर रक्तदान गर्नुका साथै ४० जनाले रक्तदान गरेका छन् । सहभागीहरुलाई त्रैमासिक रक्तदानको व्याच वितरण गरिएको थियो भने प्राविधिक सापकोटा, गिरी, महेश रानाक्षेत्री, सुनिल पुलामी, सञ्जय बढही, वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
वि.सं.२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५९ औं श्रृङ्खलासम्म करिव तीन हजार पिन्टबढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।
त्यसैगरी रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा चार साताभित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
कार्यक्रममा एसओएस युवालय नेपालगञ्जका नायव निर्देशक तुलाराम विश्वास, स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, कार्यक्रम संयोजक पवन जायसवाल, हार्डवेयरका सञ्चालक, उद्योगी व्यवसायीहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।





