
नेपालगञ्ज । नेपालगञ्ज उपमहानरपालिकामा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । अपाङ्गमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन नेपालगञ्जको वडा नं-२० मा भएको हो ।
खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय उक्त भवन उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।
विपद बहुप्रतिरोधी अपाङ्गतामैत्री वहुउदेशयीय सो भवनको एडिबी र जापान सरकारको आर्थिक तथा प्रविधिको सहयोगमा जे एफ पिआर परियोजना अन्तर्गत शहरी खानेपानी तथा ढल निकास विभागको आयोजना व्यवस्थापन कार्यालयको व्यवस्थापकिय सहयोगमा निर्माण भएको एडिबीका वरिष्ठ डिजाइन ईन्जिनियर डा.शंकर ढकालले जानकारी दिनुभयो । एडीबीका तर्फबाट विज्ञ वरिष्ठ डिजाइन इन्जिनियर परामर्शदाता डा.ढकालले विपद् पूर्वतयारी, बहुउद्देश्यीय सरसफाई तथा स्वास्थ्य भवनको डिजाइन बहुविपद प्रतिरोधी रहेको बताउनुभयो ।
सो भवन कोभिड लगायतका सरुवाजन्य रोगको लागि विशिष्ठिकृत डिजाइन बाहेक भूकम्प, बाढी, आगलागीलगायतका प्रकोप प्रतिरोधी संरचना डिजाइन गरिएको, संरचनाको भुइँसम्म कँक्रिट तथा माथि छाना स्टीलबाट निर्मित, गारोहरु इट्टा र यूपीभीसीबाट बनेको, अपाङ्गतामैत्री र्याम्प तथा नेत्रहिनको लागि ट्रयाक टाइल, लैंङ्गिक समानताको आधारमा महिलामैत्री गरी सामाजिक समावेशितामा आधारित उन्नत डिजाइन गरेर निर्माण गरिएको छ ।
यसका साथै सरुवाजन्य रोगको महामारीको बेला प्रयोग हुने गरी पीपिई लगाउने र खोल्ने छुट्टाछुट्टै कोठा, स्वास्थ्य सूचना, जानकारी र सहयोगको लागि कोठा स्वागत तथा सहयोगी कक्ष, बिरामी, कुरुवा र बिरामीका बालबालिका हिँडडुल गर्न सक्ने चौर र खुल्ला स्थलको व्यवस्था तथा वातावरणीय अनुकुलतामा आधारमा निर्मित भवनलाई भविष्यमा आवश्यकता पर्दा सिस्टर रोबोट समेत प्रयोग गरी सञ्चालन गर्न सकिने गरी रहेको ईन्जिनियर डा.ढकालले बताउनुभयो ।
भवनमा रहेका संरचना तथा बेड विश्व स्वाथ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप दूरी कायम गरिएको छ । जापान तथा अष्ट्रेलियाबाट अध्ययन, अनुसन्धान गरी मातृभूमिको सेवामा समर्पित अनुभव प्राप्त गर्नुका साथै नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतको कोभिड प्रतिकार प्रविधि विकासमा काम गर्नु भएका विज्ञ इन्जिनियर डा.ढकालको नेतृत्वमा यो भवनका सारा कार्य भएको हो ।





