
नेपालगञ्ज । पशुपन्छीका लागि नेपाल सरकारको योजना तथा नीतिहरुबारे सरोकारवालासँग छलफल गरिएको छ । नेपाल सरकारका तीन वटै तहको पशुपन्छीका लागि बनाएका योजना तथा नीतिबारे बाँकेको सरोकारवालासँग एक दिने अन्तरक्रियामार्फत छलफल गरिएको हो ।
बिकासक्रमसँगै मासुको माग बढ्दो छ तर उत्पादकत्व घट्दो रहेकाले यसको उत्पादन बृद्धि तथा पशुपन्छीको बिकासका लागि भएका योजना तथा नीतिहरुमा भएका व्यवस्थाका सम्बन्धमा इट्टा व्यवसायी, बिभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख एवं प्रतिनिधि लगायत सरोकारवाबीच छलफल गरिएको हो ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा फिल्ड कार्यालय नेपालगञ्जले संचालन गरेको दिगोपना अस्वकल्याण लागि मानव आचारण रुपान्तरण तथा सुधार परियोजनामार्फत पशुपन्छीको क्षेत्रमा प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगको समाधान गर्न, आपतकालिन योजना तथा कार्यबिधि तयारी र कार्यान्वयन, संघ, प्रदेश र स्थानीय नीति, कार्यबिधि, योजनाहरु तथा बिपद्का चरणहरुबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जका बरिष्ठ पशु चिकित्सक डा.राकेश मोहन सिंहको उपस्थिति रहेको अन्तरक्रियामा पशु प्रजनन कार्यालय नेपालगञ्ज प्रमुख डा.खगेन्द्रराज सापकोटाले भएका नीति तथा व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो क्रममा बाँकेका इट्टा व्यवसायीहरुले व्यवसाय संचालनका क्रममा प्रयोग गरिने घोडा, खच्चडको अभाव तथा नेपाल भित्र्याउँदा आइरहेको समस्या राखेका थिए । त्यसक्रममा उनीहरुले सरकारको नीति तथा नियमहरुका कारण इट्टा व्यवसायीहरुलाई उद्योग चलाउन चुनौती रहेको भन्दै केही नीति नियमहरु संशोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।





