नेपालकै ठूलो क्रिकेट रंगशाला बन्ने

रुपन्देही । जिल्लाको सैनामैनामा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाहा जग्गामा निर्माण हुन लागेको हो । नगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको छ । गत वर्ष ३० लाख रुपैयाँ छुट्याएर मैदान सम्याउने, शौचालय र ड्रेसिङ रूम निर्माण गरिएकोमा यस वर्ष एक करोड बजेटमा माटो कटिङ, तारबार र डिपिआर बनाएको छ ।

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा रंगशाला निर्माण गर्नुपूर्व नगरपालिकाले यही स्थान रंगशालाको लागि फाउन्डेसनलाई दिने भनेको थियो । तर उक्त रंगशाला चितवनमा निर्माण गरिए पनि नगरपालिका आफैंले निर्माण गर्न लागेको हो । रंगशाला निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोड रुपैयाँको लागत अनुमान गरिएको छ। रंगशालाको लागि लम्टैयास्थित निर्माणाधीन सैनामैना उद्योग ग्रामदेखि पूर्वतर्फको ९४८१७ वर्गमिटर क्षेत्रफल समेटिएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किमी उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला नेपालकै सबभन्दा ठूलो ९० र्‍याडको रहेको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले दाबी गर्नुभयो । रंगशाला निर्माणका लागि नगरपालिकालाई प्रदेश र संघीय सरकारले आर्थिक सहयोग गरेका छन् । बजेट व्यवस्थापन गरेर रंगशालाको लागि यसै वर्ष ठेक्का प्रक्रियामा जाने प्रमुख कार्कीले बताउनुभयो । रुपन्देही जिल्ला क्रिकेट खेलाडीहरूको उर्वरभूमि भएको र अन्तर्राष्ट्रिय हवाई केन्द्र पनि नजिकै भएकोले यस रंगशालालाई खेल आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। रुपन्देहीमा भैरहवा, तिलोत्तमा र कंचन गाउँपालिकामा समेत क्रिकेट मैदान छन् ।

Previous articleरिक्सा चालक र यात्रुलाई मास्क र कण्डम बितरण
Next articleकोरोनाबिरुद्धको भ्याक्सिन आपूर्ति गर्न समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here