
नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ । चैत ६ देखि ९ गतेसम्म संचालन हुने कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाण्डौं लगायत जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहले कोचिङ कोर्षको सुभारम्भ गर्नु भयो ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी दिप बहादुर महतारा, निजामुद्दिन सिद्दिकी (मुन्ना) लगायतको उपस्थिति रहेको थियो ।
कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुदका पुर्वाधार निर्माणमा राज्यले करोडौं रुपैयाँ लगानी गरेको छ । तर प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडीहरुले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नु पर्ने अवस्था छ । यसलाई बुझेर नेपालगञ्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौं ।’
उपमहानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढने मेयर विष्टले बताउनुभयो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा सदस्य शाहीले मैदान अभावका कारण फुटबलका गतिविधिमा असर गरिरहेको बताउनुभयो । नेपालगञ्जमा सुरु भएको कोर्षले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलाडीहरुमा नयाँ उत्साह र आर्कर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरुको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो । सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पुर्व कप्तान हरी खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौं । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’
बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष शाहले नेपालमा खेलाडीहरुलाई संरक्षण गर्न नसक्नु ठुलो समस्या बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ पालिकास्तरसम्म खेलकुदका गतिविधिहरु बढेपछि यसले खेलकुदमा भ्रष्टाचार निम्त्याईरहेको छ । यो कुरा हामीले भन्नै पर्छ । जिल्ला खेलकुदले राष्ट्रपति रनिङ शिल्डको छनोट गर्दा ६ देखि ७ लाखमा सम्पन्न गरेको छ । तर पालिकाहरुले १३ लाख भन्दा बढी खर्च गर्छन् । यो राज्यले खेलाडीलाई संरक्षण गर्न भनेर छुटयाएको रकम हो । यसको दुरुपयोग गर्नु भएन ।’
अध्यक्ष शाहले एन्फा बाँकेले गरेको कार्यक्रमबाट आफु निकै उत्साही भएको भन्दै कोर्षको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष एवम बाँके जिल्ला फुटबल संघका सदस्य सिंह सम्झना, सिंह, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख चन्द लगायतले कोर्षको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
चार दिनसम्म चल्ने कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान खड्का र एन्फा हेड अफ कोच एजुकेशन सिंहले प्रशिक्षण दिनुहुनेछ । एन्फाले ५ वर्ष अघिदेखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भइरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिइरहेको छ ।





