
नेपालगञ्ज । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको मङ्गलबार एक समारोहकाबीच औपचारिक उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गर्नु भएको हो ।
महोत्सव उद्घाटनअघि बाजागाजा तथा लोकसंस्कृति झल्किने झाँकीसहित सेतु विक चोकबाट निस्किएको ¥यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको थियो । आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा उक्त महोत्सव आयोजना गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासङ्घ नेपालगन्ज नगरसमितिकी अध्यक्ष अध्यक्ष दिला शाहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
महासङ्घ बाँकेका महासचिव जीआर भुसालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवम लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’, लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापामगर, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंह लगायतले आर्थिक गतिविधि चलयमान गराउन यस्ता खाले महोत्सव कोषेढुङ्गा सावित हुने बताउँदै स्थानीय उत्पादन र पर्यटनको प्रर्वद्धनसंगै बजारीकरणमा उल्लेख्य सहयोग पुग्ने महोत्सवलाई सफलताको शुभकामना दिनुभयो ।
महासङ्घ बाँकेका महासचिव जीआर भुसालले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसस्था, उद्योग, व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघ, बाँकेका अध्यक्ष खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
बुधबार ज्योती मगरले तताउने नेपालगन्ज
नेपालगञ्जस्थित वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन ज्योती मगरको बेजोड प्रस्तुती रहनेछ ।
मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको दोस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
ज्याती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ । महोत्सवलाई पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गर्नुहुनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।
तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।





