गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा कांग्रेसले आज विहान फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उहाँलाई शान्ति नायकका रुपमा चित्रण गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक मानिने कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । गिरिजाप्रसाद कोइरालामा जस्तो दृढ राजनीतिक इच्छाशक्ति अहिलेको पुस्तामा पनि आवश्यक रहेको अधिकारीको भनाई छ ।

कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । भेरी अस्पतालमा उपचाररत १०० जना विरामीलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो ।

गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स.१९८१ असार १८ मा जन्मनु भएको हो । गिरिजाप्रसाद कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुनुहुन्छ । उहाँको जन्म हुँदा उहाँका बुबा-आमा निर्वासित जीवन बिताइरहनुभएको थियो । उहाँ चार पटक नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला पनि नेपालका प्रधानमन्त्री हुनुभएको थियो । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो । सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।

Previous articleसातौँ प्रादेशिक महोत्सव उद्घाटन, बुधबार ज्योती मगरको प्रस्तुति रहने
Next articleमहोत्सवमा भोलि (विहीबार) ज्योती मगरको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here