
नेपालगञ्ज । नेपालगञ्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।
लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगेतिक कार्यक्रममा सहभागि बन्न दर्शकहरुको भीड बढ्यो । महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई छमछमी नचाउनुभयो ।
उहाँले आफ्नो सांगेतिक प्रस्तुति राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे । महोत्सवमा चर्चित ¥यापर डोङ्गको उपस्थिति हुने भनिएपनि डोङ्गको स्वास्थ्यमा समस्या हुँदा उपस्थित हुन सक्नु भएन ।
डोङ्गको उपस्थिती हुन नसकेपनि चर्चित लोक दोहारी गायिका टिका पुन, नृत्यङ्गना आरुसी मगर तथा गायिका रुपा घर्तीमगरको दमदार प्रस्तुतिले दर्शक मन्त्रमुग्ध बनेको झाँकी तथा कला संस्कृति व्यवस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिनुभयो ।
चैत्र ६ गतेदेखि सञ्चालन भएको महोत्सवको चौथो दिन शुक्रबार दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको थियो । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतिले महोत्सव स्थल तातिएको थियो ।
आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा भोलि आईतबार चर्चित गायक प्रमोद खरेल, गायिका पूर्णकला विसी, मोडल निशु श्रीपाली, चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको बेजोड प्रस्तुति रहनेछ भने उद्घोषणमा शोभालाई तिलक गाउँलेले साथ दिनु हुनेछ ।
दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि दर्शकलाई थप रोमाञ्चित र व्यस्त बनाउन आयोजक लागि परेको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले लगातार विदा परेकाले दर्शकको उपस्थिती आगामी दिनमा झनै बढेर जाने बताउनुभयो ।
धम्बोझी, वाटरपार्क, विशालनगर, चेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।
राती ८ बजेसम्म चल्ने महोत्सवको सांगतिक कार्यक्रम कुनै कन्सर्ट भन्दा कम छैन । मुख्य आकर्षक सांगितिक कार्यक्रमका अलावा महोत्सवमा थारु गाउँ, विभिन्न थरीका झुलाहरुलगायत स्थानीय उत्पादनका राम्रा राम्रा वस्तुहरु समेत पाइने गरेको दर्शकहरुले बताएका छन् ।
डिजे लाईट र दमदार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुति राख्दा कन्सर्ट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ्ज नगरसमितिको सह-आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।





