
कपिलबस्तु । लुम्बिनीमा वैशाख ५ र ६ गते अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा कार्यक्रम हुने भएका हुन् ।
म्याराथनमा नेपाल, चीन, पाकिस्तान, श्रीलंका, केन्यालगायत देशका धावकहरूको सहभागिता हुने जनाइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव हुन लागेको जनाइएको छ ।
लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत ५ वैशाख बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको छ । भोलिपल्ट लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा हुने नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिनुभयो ।
६ वैशाख साँझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतको प्रस्तुति हुनेछ । त्यस्तै पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड, महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड हुनेछ ।
५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन लगायतका खेलकुद कार्यक्रम पनि समावेश गरिएको छ । म्याराथन प्रतियोगिताको विजेताले ५ लाख पाउने छन् । कुल पुरस्कारमा २० लाख रुपैयाँ छुट्याइएको छ ।





